नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्य व्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सही तरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रुपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको बताए । उनले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।डा. राजेन्द्र खनालले कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौ जनताको ज्यान गएको बताए । उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र यस मानव सङ्कटको दुखद घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी संगठनलाई आगामी कार्यक्रममा लागि शुभकामनासहित धन्यवाद प्रकट गरेका थिए ।अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितीमा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विभिन्न राजनीतिक दल पूर्ण बफादार भई लाग्नुको साटो कुर्ची र सत्ता प्राप्तिको लागि लिप्त रहेको बताए । संयोजक विरेन्द्रले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्य लगायत यावत् क्षेत्रमा भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण कायम रहने भन्दै यस प्रकारका सम्पूर्ण समस्याहरूको पूर्ण समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत आफ्नो संगठले देशव्यापी रुपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र यसै सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।कार्यक्रममा संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर लगायत पार्टी र संगठनका विभिन्न नेता तथा कार्यकर्ताहरू, अस्पतालका कर्मचारी, जनस्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो